वडावासीको अभियान
धनगढी, १७ जेठ । धनगढी नगरपालिकाको वडा नं. ५ तारानगरका बसिन्दा आफ्नो वडा क्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउने अभियानमा जुटेका छन् ।
झण्डै दुई महिनाअघि प्लास्टिक निषेधित क्षेत्र घोषणा गरी आफ्नो वडालाई स्वच्छ, सफा बनाउने अभियानमा जुटेका वडावासीले प्लास्टिकको विकल्पमा कागज र कपडाका हाते झोला प्रयोग गर्ने गराउने उद्देश्यका लागि कागज र हाते झोला प्रयोगतयार पार्नेसम्बन्धी तालिम समेत सञ्चालन गरेका छन् ।
यो अभियानका क्रममा आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ भन्ने धारणासहित प्रहरीको सहयोग लिई उक्त वडाको सुरक्षाका लागि रातिको समयमा दुईजना चौकीदारको व्यवस्था गरिएको छ ।
झण्डै दुईसय घरधुरीबाट थालिएको यो अभियान नगर क्षेत्रका सबै वडामा क्रमशः सञ्चालन गर्ने लक्ष्य रहेको तारानगर टोल तथा व्यवस्थापन समूहका अध्यक्ष मायाप्रसाद भट्टले बताउनुभयो ।
समूहले क्याम्पस–चटकपुर सडकको तारानगर सडक खण्डको दायाँबायाँ वृक्षारोपण गर्ने योजनासमेत बनाएको छ । वातावरण संरक्षणका लागि ‘एक घर, पाँच विरुवा’ रोप्नुपर्ने समूहको नीति बमोजिम घर परिसरमा विरुवा समेत रोप्न थालिएको छ ।
समूहले हप्तामा एक दिन सार्वजनिक स्थानमा सामूहिक सरसफाइ अभियानसमेत सुरु गरेको छ । रासस


